काठमाडौं । काठमाडौंको वीर अस्पतालमा जलनका बिरामीको उपचार सेवा पुन सुरु गरिएको छ । शुक्रबार वीर अस्पतालमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डा. केडी जोशी जलन उपचार केन्द्रुको शुभारम्भ गरेका हुन् ।
जलनका बिरामीका लागि अस्पतालमा १० वटा जनरल बेड, पाँचवटा आईसीयू बेड र तीनवटा अपरेसन थिएटरको व्यवस्था गरिएको छ ।
वीरले आठ वर्षपछि जलनको पुनस् उपचार थालेको हो । २०७२ को महाभूकम्पले बर्न वार्ड रहेको भवन भत्किएपछि जलनका बिरामीको उपचार सेवा बन्द भएको थियो ।
जलनका बिरामीलाई आवश्यक सबै उपचार सेवा केन्द्रबाट दिइने अस्पतालले जनाएको छ ।
अस्पताल निर्देशक डा. सन्तोष पौडेलले झन्डै दुई वर्षअघि आफ्नो नियुक्तिको पहिलो निर्णयमा नै बर्न युनिट सुरु गर्ने बताएका थिए । तर, जनशक्ति, स्थान अभावसहितका कारणले सेवा सुरु गर्न ढिलाइ भएको थियो ।
जलन उपचार केन्द्रको शुभारम्भ गर्दै मन्त्री पौडेलले जलनको उपचारका लागि आएका बिरामीलाई अन्यन्त्र रिफर गर्नुपर्ने अवस्थाको अन्त्य भएको बताए ।
प्रतिक्रिया